चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं – युवा ज्योतिष र अभिनेत्री नीता ढुंगाना एवं अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ। आइतबार निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा दक्षिण भारतीय कलाकार विजय रावत र नेपाली अभिनेत्री विपना थापा फिचर्ड छन्। पोस्टरमा रावत फुलेको झुस्स दारीजुंगामा देखिएका छन्, जसले उनलाई धार्मिक गुरुजस्तै देखाउँछ। यद्यपि, निर्माण पक्षले उनको भूमिकाबारे हालसम्म कुनै जानकारी दिएको छैन।

पोस्टरमा कालो वस्त्रमा देखिएकी विपना थापा आश्चर्यभावमा छिन्। यस फिल्मको निर्देशन चन्द्र पन्तले गरेका छन्। दशैँको अवसर पारेर असोज ११ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षले बनाएको छ।

हरिहर अधिकारीको कथा र नीता ढुंगाना निर्मात्री रहेको यस फिल्ममा यी दुई स्वयं मुख्य भूमिकामा छन्। सिनेमामा नेपाली र भारतीय चर्चित कलाकारहरूको अभिनय छ।

नीता र हरिहरका साथै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरूले अभिनय गरेका छन्। भारतीय कलाकार विजय रावतसँगै ब्रह्मानन्दमको पनि अभिनय रहेको छ।

Leave a Comment